अस्वीकृति
- रेखा "आजाद पक्षी"
केही क्षण हराउँदैमा
म तिम्रा आँखाहरूलाई
मेरो दृष्टि मान्न सक्दिनँ
केही क्षण रमाउँदैमा
म तिम्रो साथलाई
मेरो संसार मान्न सक्दिनँ
खुशी को हुँदैन
जीवनमा कसैको साथ पाउँदा
तर मेरो खुशी तिम्रै वरिपरि मात्र घुम्छ
म मान्न सक्दिनँ
संसार धेरै ठूलो छ
भिन्न तिमी अनि धेरै भिन्न म
रमाउँला नी कहिले काहिँ
हाम्रा भिन्न भिन्न रहरहरूमा
तर तिम्रो रहरलाई मेरो
जिउँने आधार मान्न सक्दिनँ
धेरै छन् बदल्नु पर्ने कुरा संसारमा
आफैलाई पनि त बदल्नु छ
तर तिम्रा निमित्त भनेर म
आफैलाई तिमी बनाउन सक्दिनँ
भावना त हो
चरा जस्तै हुन्छ
उडेर गयो भने पनि कसैलाई त कैद
अवश्य बनाउँछ
सम्झनाहरूले खोलेको पिंजरामा म
आफैंलाई कैद गर्न सक्दिनँ
तिमी सबै संजोग हो भन्छौ
संजोगले मजबूत बनिदैन सम्बन्ध
न त भावनाले नै बनिन्छ
विचारले बनिन्छ सम्बन्ध बलियो
तर मात्र तिम्रो विचार
म आफ्नो मान्न सक्दिनँ
समय संगै
बद्लिरहेको छ प्रेमको परिभाषा
प्रेम आफै कैद बनिरहेको छ
जात, धर्म र सम्पत्तिको पिंजरामा
मेरो कर्तव्य तिम्रो खुशी बनाइएको छ
अनि मेरो खुशी तिम्रो सम्पत्ति
म तिमीलाई हेरि मेरो शरीर तिमीलाई
सुम्पिन सक्दिन
गोल्डडिगरको
ठूलो ताज लगाइएको छ मेरो सिरमा
म तिमी जसरी नै जन्मिए
हाम्रो पहिलो रूवाई पनि त एउटै थियो
तर पितृसत्ताले बनाइएको भगवान तिमी
म दास होइन तिम्रो
म तिमीलाई जीवन साथी स्वीकार्न सक्छु
भगवान होइन..!